‘चेन अफ कमान्ड’ तोडेकाे भन्दै अध्यक्ष दाहाल आक्रोशित
(काठमाडौं) सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक चलिरहेकै बेला केही सदस्य र मन्त्रीले शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक विमर्श गरेकोप्रति अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन्।
स्थायी कमिटीको शनिबारको बैठक सुरु हुनुअघि राष्ट्रपति भण्डारीले कमिटीका केही सदस्य र मन्त्रीलाई निवासमा बोलाएर बैठकमा उठेका र अन्य केही विषयमा जानकारी लिएकी थिइन्। उनीहरूले ‘चेन अफ कमान्ड’ तोडेर राष्ट्रपतिसँग राजनीतिक विषयमा छलफल गरेको भन्दै अध्यक्ष दाहालले आपत्ति जनाएका हुन्। स्थायी कमिटी बैठक एक सातादेखि जारी छ।
दाहालले स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपतिलाई भेट्न जानुको कारण सोेधेका थिए। उनले शनिबार स्थायी कमिटी बैठक सुरु भएलगत्तै राष्ट्रपति निवासमा भएको छलफलको विषय उठाउँदै असन्तुष्टि पोखेका थिए। त्यसपछि अन्य नेताहरूले पनि राष्ट्रपति निवासमा को–को जानुभएको हो भन्दै जानकारी मागेका थिए।
स्रोतका अनुसार राष्ट्रपति निवासमा नेकपाका नेताहरू सुरेन्द्र पाण्डे, देव गुरुङ, शंकर पोखरेल, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शक्ति बस्नेत, वर्षमान पुन, घनश्याम भुसाल, विष्णु रिमाल गएका थिए। यस विषयमा पार्टी बैठकमा कुरा उठेपछि परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले ‘राष्ट्रपतिज्यू्ले सामान्य विषयमा छलफल गर्न बोलाउनुभएको रहेछ’ भनेर कूटनीतिक जवाफ दिएका थिए ।
‘प्रधानमन्त्री (केपी शर्मा ओली) ज्यू र म गएर भेट्दासमेत बाहिर निकै हल्ला र चर्चा भयो। अब तपाईंहरू पनि गएर थप चर्चा गराउनुहुनेभो। यस्ता कार्य पार्टीको बैठक चलेको बेलामा गर्नुहुन्न। अब यस्तो नहोस्,’ दाहालको चेतावनी उद्धृत गर्दै स्रोतले भन्यो। दाहालले राष्ट्रपतिसँगका यस्ता भेटले राम्रो सन्देश प्रवाह नगर्ने पनि बताए।
‘करिब डेढ घण्टाको कार्यक्रम रहेछ। हाम्रा केही साथी राष्ट्रपतिज्यूलाई भेट्न जानुभएको रहेछ,’ स्थायी कमिटीका एक सदस्यले भने। यस विषयमा स्थायी कमिटी बैठकमा छलफल भयो। ती सदस्यका अनुसार बैठकमा अध्यक्ष दाहालले सदस्यहरूलाई राष्ट्रपति निवासमा जानुको कारण के हो भन्दै असन्तुष्टि पोखेका थिए। ‘पहिला हामीलाई थाहा भएन। अध्यक्षज्यूले पार्टी बैठक चलिरहेको बेला किन राष्ट्रपति कार्यालय गएको भनेर प्रश्न गरेपछि मात्रै उहाँहरू जानुभएको रहेछ भनेर थाहा पाइयो,’ ती सदस्यले भने। यो विषयमा भीम रावल, वेदुराम भुसाल र रघु पन्तले पनि आपत्ति प्रकट गरेका थिए।
उनीहरूले बैठकमा राष्ट्रपति आफैं कतै गुट निर्माण गर्ने काममा त लाग्नुभएको छैन भनेर प्रश्नसमेत गरेका थिए। ‘पार्टीमा अधिकार बाँडफाँट गर्ने बेलामा पनि दुई अध्यक्ष (ओली र दाहाल) राष्ट्रपतिलाई भेट्न जानुभएको थियो। उहाँलाई साक्षी राखेर पद बाँडफाँड भयो भन्ने बाहिर आयो। अहिले पनि साथीहरू उतै धाउनुभएको भन्ने सुनिन्छ। पार्टीभित्र के–के पाक्दैछ, त्यसको जानकारी चाहियो,’ स्थायी कमिटी सदस्य रावलले बैठकमा भने।
राष्ट्रपति भण्डारीले सरकारका मन्त्रीसहित नेकपाका केही नेतालाई शीतलनिवास बोलाएर स्थायी कमिटी बैठकमा उठेका र अन्य राजनीतिक विषयमा जानकारी लिएकी थिइन्। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) तथा गोकर्ण फरेस्ट रिसोर्ट, गल्फ कोर्स र त्यहाँको जंगल क्षेत्र थप २५ वर्षका लागि यती होल्डिङ्स प्रालिलाई भाडामा दिइएको विषयमा पनि उनले जानकारी लिइन्। यो विषयमा पार्टीमा पनि चर्को बहस भइरहेको छ। उनले पार्टीभित्र अहिले उठेको समाजवादको विषय के हो भनेर चासोसमेत राखिन्।
‘अध्यक्षद्वयको प्रतिवेदनमाथि वामदेव गौतम, विष्णु रिमाल, घनश्याम भुसाल, वेदुराम भुसाल, भीम रावल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतले फरकफरक दृष्टिकोण प्रस्तुत गरेको विषयमा पनि उनले जानकारी लिइन्। ‘जनताको बहुदलीय जनवाद, जनताको जनवाद र समाजवाद विषयमा पनि केहीबेर छलफल भयो। साथै समय छँदै यति होल्डिङ्स प्रालिको लिज नवीकरण गरिएको विषयमा पनि छलफल र चासो व्यक्त भयो,’ स्रोतले भन्यो। तर राष्ट्रपति निवास स्रोतले भने राष्ट्रपतिले नेकपाका केही नेतालाई खाना खान बोलाएको दाबी गरेको छ।