मकैमा अमेरिकन फौजी किराको प्रकोप
(वीरगञ्ज) बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० का सत्यनारायण महतोले पाँच कठ्ठा जग्गामा मकै खेती गरेका छन् । तर अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।
किनभने पूरै जग्गामा अमेरिका फौजी किराको प्रकोप छ ।
महोतोले परवानीपुर कृषि अनुसन्धान केन्द्रमा गएर गुनासो गरे । त्यहाँका प्राविधिकले औषधि लेखेर पनि दिए, तर षधिले काम गरेन । ‘किराको प्रकोप हट्छ कि भनेर फिराडोन, थाइमेड लगायत गरी चार पटक मकैमा विषादी हालिसकें,’ उनले भने, ‘१३ सय रुपैयाँ खर्च भइसक्यो । तर किराको प्रकोप रोकिएको छैन ।’
उनको जस्तै पीडा महेन्द्र कुमार महतो, ज्ञानेन्द्र महतो, हृदयेश चौरसिया, वेदमीया देवी लगायत गाउँका सबै किसानको छ । अब बालि के हुने हो ? कसरी जोगाउने हो ? जोगाउन के गर्नुपर्छ ? किसान अन्यौलमा छन् । उनीहरु भन्छन्, ‘पहिले यस्तो किरा आउँदैनथ्यो, यसपालि त पूरै मकै बर्वाद पारिदियो ।’
सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्ने किटविज्ञ बताउँछन् ।
नेपालका विभिन्न जिल्लामा देखिएको अमेरिकी फौजी किराको प्रकोपले बाराका किसानहरु प्रताडित भएका छन् । मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन् । विगतमा पनि बाराका किसान मकैको घोगामा दाना नलागेर पीडित भएका थिए ।
मकै राम्रो उत्पादन हुने जिल्लामा बारा पनि पर्छ । बाराको निजगढ, जीतपुरसिमरा, निजगढ रतनपुरी, कोहल्बी, सिम्रौनगढ, करैया, पचरौता लगायत झण्डै ४ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ । एक हेक्टरमा औसत साढे ५ मेट्रिकटन मकै उत्पादन हुने गरेको किसानको अनुभव छ ।