फोहोरबाट बिजुली निकाल्न महानगरले ल्याएका करोडौंका मेसिन अलपत्र
(काठमाडौं) काठमाडौं महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने भन्दै करोडौं खर्च गरेर किनिएका मेसिनहरु अलपत्र परेका छन् । मेसिन किनेर ल्याएको ३ वर्ष वितिसक्दा पनि बिजुली भने उत्पादन भएको छैन ।
मुलुकले लोडसेडिङको चर्को सामना गरिरहँदा महानगरले फोहोरबाट बिजुली निकाल्ने योजना बनाएको थियो । तर, अहिले देश लोडसेटिङमुक्त भइसकेकाले महानगरको उक्त योजनाको सान्दर्भिकता नै रहेन । महानगरले यो विषयलाई प्राथमिकतामा नराखेपछि मेसिनहरुमा खिया लाग्न थालेको छ ।
महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार मेसिन किन्न मात्रै दातृ निकायको सहयोगमा १ करोड ८६ लाख रुपैयाँ खर्च गरिएको थियो । यसबाहेक पनि मेसिन ढुवानी, व्यवस्थापन लगायत गरी ३ करोड रुपैयाँ हाराहारीमा महानगरले खर्च गरिसकेको छ ।
सडेगलेका फोहोरबाट बिजुली निकाल्ने महानगरको तत्कालिन सोच आफैंमा सही थियो । चरम लोडसेडिङका बेला यसले थोरै भए पनि राहत दिन सक्ने विश्वास महानगरबासीले लिएका थिए । यद्यपि, कतिपयले यसलाई ‘हावादारी योजना’ भनेर नउडाएका पनि होइनन् । फोहोरबाट बिजुली निकाल्न काठमाडौं महानगरलाई युरोपेली युनियनले आर्थिक सहयोग गरेको थियो । महानगरले मेसिन खरिद गरेर सफल परीक्षण समेत गरेको थियो । तर, त्यसलाई प्रयोगमा ल्याउन सकेको थिएन ।
जतिबेला फोहोरबाट बिजुली निकाल्ने योजना सार्वजनिक भयो त्यसबेला काठमाडौं महानगरमा दैनिक ५ सय टन फोहोरमैला उत्पादन हुने गरेको थियो । त्यसमध्ये ३ सय टन फोहोर विद्युत उत्पादनका लागि प्रयोग गर्न सकिने महानगरले बताएको थियो । सो फोहोरबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो ।
टेकुमा रहेको प्लान्ट अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । फोहोरबाट ग्यास उत्पादन गर्ने र त्यस ग्यासबाट बिजुली उत्पादन गर्ने महानगरको योजना थियो । ग्यास भण्डारणका लागि ल्याइएको रबर बेलुन अहिले कुहिएर आफैं फोहोरमा परिणत भएको छ ।