काम गर्न निर्माण कम्पनीले देखाएनन् इच्छा, दुवै काम कालिकाले पाउँदै
(काठमाडौं) काठमाडौं महानगरलाई ‘खनपुरी नगरी’ भनेर पनि गिज्याउने गरिन्छ । अन्तरसरकारी समन्वयको अभावमा एउटा निकायले सडक बनाउने र लगत्तै अर्कोले भत्काउने प्रवृत्तिलाई लिएर यस्तो ठट्टा गरिएको हो ।
महिनौंदेखि बिग्रेको सडक ठूलो दबावपछि बल्लतल्ल सडक विभागले बनाउँछ । सडक बनेलगत्तै खानेपानीको पाइप र ढल बिछ्याउन खानेपानी आयोजनाले त्यसलाई फोर्छ । सडकपेटी बनेपछि टेलिकमले फाइबर बिछ्याउन थाल्छ । यस्तो सिलसिलाले एकातिर सडक सधैं अस्तव्यस्त रहने र अर्कोतर्फ राज्यकोषबाट दोहोरो–तेहरो खर्च हुने गरेको भनेर आलोचना हुँदै आएको छ ।
तर काठमाडौंमा पहिलोपटक यस्तो समस्या नदोहोर्याउने गरी नयाँ अभ्यास सुरु भएको छ । सडक विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले गौशाला–चाबहिल खण्डमा संयुक्त रूपमा एकैपटक काम गर्न थालेका छन् । पाइप बिछ्याउने र सडक मर्मत गर्ने कामलाई एउटै ठेक्कामा राखिएको छ ।
सडक विभागका अधिकारीहरूका अनुसार गौशाला–चाबहिल खण्डमा खानेपानीका पाइपहरू जीर्ण छन् । वर्षौंअघि बिछ्याइएका पाइपहरूबाट मुल फुटेजस्तो पानी रसाइरहन्छन् । ती पाइप नफेरिकन जति पिच हाले पनि काम नलाग्ने विभागका सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाको भनाइ छ ।
अहिले पनि खण्डमा ठूला–ठूला खाल्डा छन्, घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुन्छ । कारण, रिंगरोडभित्रै सवारी चालक र यात्रुले दुःख पाइरहेका छन् ।
‘गौशालाबाट चाबहिल चोकसम्म यसअघि पनि पटक–पटक पिच नभएका होइनन्, तर पाइप फुट्ने र रसाउने क्रम लगातार चलेपछि पिच टिक्दै टिकेनन्’, उपमहानिर्देशक सापकोटा भन्छन्, ‘त्यसैले यो खण्डबाट सडक र खानेपानीको काम एकै ठेक्काबाट गर्न अन्तरनिकाय समन्वय गरेका हौं ।’
यो खण्डमा मेलम्चीको वितरण लाइनको पाइप बिछ्याउनै बाँकी छ । त्यसैले ठूलो खर्च गरेर कालोपत्रे गर्दा पछि मेलम्चीले सडक खनेर दोहोरो खर्च गर्नुपर्ने अवस्था आउने थियो । यही सम्भावनालाई टार्न र निकै जटिल बनेको यो सडकखण्डको अवस्था सुधार्न दुई निकायले संयुक्त रूपमा एउटै ठेकेदारमार्फत सडक र खानेपानीको काम गराउन लागेका हुन् ।
खानेपानी र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरूकै बैठकले संयुक्त ठेक्का लगाउने निर्णय गरेको थियो । त्यसअनुसार सडक विभागले दुईपटक ठेक्का गर्नुपर्यो । पहिलोपटक कुनै कम्पनी ठेक्कामा सहभागी नभएपछि दोस्रोपटक ठेक्का लगाउँदा एउटा मात्रै कम्पनीले बोलपत्र हालेको छ ।
बोलपत्र हाल्ने कम्पनी कालिका कन्स्ट्रक्सन हो, जसमाथि भ्रष्टाचारको अभियोग छ । सार्वजनिक खरिद नियमावलीअनुसार, भ्रष्टाचारको अभियोग लागेको कम्पनीको ठेक्काको मूल्यांकन गर्न प्रधानमन्त्री कार्यालयको अनुमति लिनुपर्ने थियो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कैलाशकुमार श्रेष्ठ सबै प्रक्रिया पूरा गरेर कालिकालाई ठेक्का सम्झौताका लागि बोलाइएको बताउँछन् ।
‘अब सडकको बीच भागमा रहेको खानेपानीको पाइपलाई कालिकाले नै सडकका दुवै छेउतर्फका भागमा सारेर पानी वितरण प्रणाली तयार गर्छ’, उनले भने, ‘त्यसपछि सडकमा हुने पानी चुहावटको समस्या हट्छ र सडक राम्रो हुन्छ ।’
उनका अनुसार यो सडकमा पाइप र सडकको काम गर्न ‘स्टमेट’ तयार गर्न विभागलाई पीआईडीले सघाएको थियो । ठेकेदारले काम सुरु गरेपछि पीआईडीले पाइपको काम कसरी भयो भनेर अनुगमन पनि गर्ने श्रेष्ठले बताए ।
सडक विभागले खानेपानीको पाइप फुट्ने समस्याममा कारण थुप्रै सडक खण्डमा कालोपत्रेलगायतका काम गर्न नसकिएको बताउँदै आएको छ । यस्तो समस्या मूल रूपमा पुतलीसडकमा छ । त्यसैगरी, उपत्यकाका विभिन्न खण्डमा पनि खानेपानीको र ढलको पाइप फुट्ने समस्याले कालापत्रे उप्किएका छन् । हालसम्म पनि विभाग खानेपानीको समस्या हल नभएसम्म सडक पिच नगरी बस्ने अभ्यास चल्दै आएको थियो ।
अब भने यसलाई विस्तारै समस्याहरू हटाउँदै जाने र जटिल बनेका सडकमा गौशाला–चाबहिलकै मोडल अपनाउने योजनमा विभाग छ ।