मंसीर ५ गतेदेखि गोरखा नगरपालिकाभित्र नगरबस चल्ने
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गोरखा नगरपालिकाभरि नगर बस सञ्चालन गर्ने भएको छ । आउँदो मंसीर पाँच गतेदेखि नगरबस सञ्चालन गर्ने प्रालिका क्षेत्रीय सदस्य विपिनचन्द्र ढकालले जानकारी दिए । नगर बस सञ्चालन गर्ने बारे प्रालि र गोरखा नगरपालिका बीच मंगलबार सात बुँदे सम्झौता भएको छ । नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र प्रालिका क्षेत्रीय सदस्य ढकाल तथा कार्यालय प्रमुख राजन ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा सरकारले तोकेभन्दा बढि भाडा लिन नपाउने, सडक बिग्रेभत्केमा दुवै पक्षले मर्मत गर्ने लगायतका बुँदा उल्लेख छ ।
दुईपक्षले गरेको सम्झौतामा घलाङ नारेश्वर हुदै नगरपालिका कार्या लय, छापथोकबाट नगरपालिका कार्यालय, नगरपालिका कार्यालय बाट फिनाम ताप्ले, छापथोक, छेपेटारबाट नगरपालिका कार्यालय, गोरखा दरबारबाट मैदान, पस्लाङ, रोहटेपानी हुदै नगरपालिका कार्यालय, देउरालीबाट नगरपालिका कार्यालय, पिपलथोक, पन्थे स्वाँरा, रानीवन हुदै नगरपालिका कार्यालय, मान्दे्रढुंगा, हिलेपोखरी, खिरेपानी हुदै नगरपालिका कार्यालय, ढुंगागाढे, काट्टेलडाँड हुदै नगरपालिका कार्यालय, गोरखा बजार परिक्रमा घुम्ति सेवा, नगरपालिका कार्यालयबाट बसपार्क, नारेश्वर, मेलबिसौना, डेरागाउँ, ताप्ले, फिनाम हुदै गोरखा नगरपालिकाको घुम्ती सेवा सञ्चालन गर्ने उल्लेख गरिएको छ । यदि रुट थप घट गर्नुपरेमा दुईपक्ष बसेर मात्र गर्न सकिने उल्लेख गरिएको छ ।
नगर बससेवा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । तर उनी अहिले भारत भ्रमणमा रहेकाले फर्केपछि उद्घाटन गरी मंसीर ५ गतेबाट सञ्चालन गरिने कार्यालय प्रमुख ढुंगानाले बताए । कच्ची रुटको भाडा पनि दुई पक्ष बसेर तोक्न बाँकी रहेको उनले बताए । नगरबस बिहान आठ बजेदेखि साँझ साँढे चार बजेसम्म सञ्चालन हुने ढुंगानाले जानकारी दिए ।