अमेरिकातिर विप्लवको निशाना
(काठमाडौं) अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको समूहलाई ‘घरेलु आतंकवादी समूह’को संज्ञा दिएको छ । अर्कोतिर हालै सम्पन्न विप्लव समूहको केन्द्रीय समितिको आठौं पूर्ण बैठकले अमेरिकी ‘हिन्द प्रशान्त (इण्डो प्यासिफिक) रणनीति’ को भण्डाफोर गर्ने निर्णय लिएको छ ।
एकातर्फ अमेरिकी विदेश मन्त्रालयले विप्लव समूहका गतिविधिलाई ‘नेपालको घरेलु आतंकवादी क्रियाकलाप’ का रुपमा विश्लेषण गर्नु अनि अर्कोतिर विप्लव समूहले ‘इण्डो प्यासिफिक रणनीति’को भण्डाफोर गर्ने निर्णय गर्नुले दुईपक्षीय टकरावको संकेत गरेको छ । अब विप्लव समूहको निशाना नेपालमा हुने अमेरिकी चासो र गतिविधितर्फ लक्षित देखिन्छ भने नेपाल सरकारले विप्लव समूहसँग वार्ता गर्न नचाहनुमा विदेशी ईच्छाले पनि काम गरेको हो कि भन्ने आशंका गर्न सकिन्छ ।
अझै रोचक त के छ भने दुई साताअघि दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी विदेश सहायकमन्त्री एलिस जी वेल्सले त्यहाँको संसदमा प्रस्तुत गरेको एक प्रतिवेदनमा नेपाल चीनतर्फ ढल्किएको मात्र बताइएको थिएन, नेपालमा धार्मिक गतिविधि र धर्म परिवर्तनप्रति कडाइ गरिएको विश्लेषण गरिएको थियो । लगभग त्यसैको काउण्टर हुने गरी विप्लव समूहले ‘धार्मिक राजनीतिको भण्डाफोर’ गर्ने नीति अगाडि सारेको छ ।
एकातर्फ अमेरिकी विदेश मन्त्रालयले विप्लव समूहका गतिविधिलाई ‘नेपालको घरेलु आतंकवादी क्रियाकलाप’ का रुपमा विश्लेषण गर्नु अनि अर्कोतिर विप्लव समूहले ‘इण्डो प्यासिफिक रणनीति’को भण्डाफोर गर्ने निर्णय गर्नुले दुईपक्षीय टबरावको संकेत गरेको छ
क्रिश्चियन धर्म प्रचार सहज र खुकुलो नभएको भन्ने अमेरिकीहरुको गुनासो अनि नेपालमा धर्मको राजनीति बढेको भन्दै ‘धार्मिक राजनीतिको भण्डाफोर’ गर्ने विप्लव समूहको कार्यनीतिले अब नेपालमा पश्चिमाहरुको उत्तेजना थप बढ्ने संकेत देखिएको छ ।
पश्चिमा राजदूतले परराष्ट्रमन्त्रीसँगको भेटमा समेत मुखै फोरर धर्मका बारेमा कुरा उठाउन थालेका अवस्थामा विप्लव समूहले पनि यसलाई आफ्नो राजनीतिक प्रस्तावमा समेटेको छ ।
विप्लव समूहले गत असोजमा दुई दिन लगाएर पार्टीको आठौं पूर्ण बैठक सम्पन्न गरेको छ । केपी ओली नेतृत्वको सरकारले वार्ताको प्रचार गरेर दमनको नीति लिएको विश्लेषणसहित सम्पन्न पूर्ण बैठकमा महासचिव विप्लवले पार्टी सुदृढीकरणको लाइन ल्याएका छन् । ‘पार्टीलाई सुदृढीकरण गर्दै फासीवादको प्रतिरोध गर्ने’ कार्यदिशा विप्लवले अगाडि सारेका छन् ।
बैठकपछि जारी सर्कुलरमा भनिएको छ, ‘महासचिव कामरेड विप्लवले पार्टीको आठौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकमा ‘आफूलाई रुपान्तरण गर्दै पार्टीलाई सुदृढीकरण गरौं, फासीवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं शीर्षकको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो । सो प्रस्तावलाई व्यापक बहसपछि परिमार्जनसहित पारित गरियो ।’
विप्लव माओवादीका पछिल्ला निर्णयहरु हेर्दा उसले हिंसात्मक संघर्षलाई भन्दा बढी संगठन विस्तार र आर्थिक अभियानमा जोड दिएको देखिन्छ । आगामी मंसिर ८ गते पार्टी पुनर्गठन दिवस, पुस ११ गते माओ दिवस र फागुन १ गते जनयुद्ध दिवस लगायतलाई लक्षित गरेर उनले विविध कार्यक्रमहरु तय गरेको छ । साथै विभिन्न जनवर्गीय संगठनहरुको राष्ट्रिय सम्मेलन पनि यही अवधिमा गर्ने विप्लव समूहले मिति तय गरेको छ ।
संघीयताप्रति अरुची देखाउँदै पहाडमा मात्र संगठन केन्द्रित गर्दै आएको विप्लव समूहले मधेस मोर्चाको फ्रयाक्सन इञ्चार्जसमेत तोकेको छ ।
पूर्ण बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केपी ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको विश्लेषण गरिएको छ । सरकारले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा ‘ दुःखी नेपाली र गरीब नेपाल’ मा बदलिएको विप्लवले बताएका छन् । सरकार दलालीकरण र फासीवादतर्फ लागेको र राजनीतिक मौलिक अधिकारहरु समाप्त पार्दै लगिएको विप्लवले ओली सरकारमाथि आरोप लगाएका छन् । विप्लवको प्रतिवेदनमा भनिएको छ, ‘हिन्दुराष्ट्रको चर्चा, हिन्द प्रशान्त रणनीति, संघीयता र क्रिस्चियनीकरण, बीआरआई परियोजनाहरु यसैका उपज हुन् ।’
सरकारले आफ्नो फासीवादी दमनलाई ढाकछोप गर्न वार्ताको हतियार प्रयोग गरिरहेको विप्लव समूहको निश्कर्ष छ । आफ्नो पार्टीको जन्म माओवादी पार्टीको खरानीबाट भएको भन्दै उसले ‘देशको सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि आम जनताको बलमा ओली सरकारको प्रतिरोध गर्ने’ बताएको छ ।
यसका लागि उसले पार्टी सुदृढीकरणमा जोड दिने नीति अघि सारेको छ । विप्लवको नारा छ– ‘आफूलाई रुपान्तरण गर्दै पार्टीलाई सुदृढीकरण गरौं, फासीवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔं ।’