सार्वजनिक यातायातले सिट फोहोर राखे कारबाही
(काठमाडौं) महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिने भएको छ ।
सार्वजनिक बस, ट्याक्सीलगायतको सिट घिनलाग्दो भएको जनगुनासो आएपछि व्यवसायीसँग छलफल गरेर सिटलाई सफा पार्नका लागि निश्चित समय दिइने भएको हो ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले केही दिनमै व्यवसायीसँग छलफल गरेर समय तोकिने बताए । उनका अनुसार बस्नलाई समेत असजिलो हुने र सिटमा बस्ने वित्तिकै काटीले पाइन्ट च्यातिने जस्तो स्थिति सार्वजनिक यातायातमा देखिएको छ ।
‘हामीले केही फोटोहरु पनि संकलन गरेका छौं’, ढकालले भने, ‘ती फोटो समेत देखाएर व्यवसायीका प्रतिनिधि राखेर छलफल गर्छौं ।’