खाडी र अफ्रिकी देश भिजिट भिसामा जान महिलालाई कडाइ
(काठमाडौं) सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो ।
अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन ), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण देशमा जाँदा अध्यागमन विभागले पासपोर्ट, भिसा, बोर्डिङ पास, आतेजाते टिकट, प्रायोजक भए उसको पत्र, होटेल बुकिङको प्रमाणित पत्रसमेत माग्ने छ ।
यसबाहेक महिलाका हकमा विदेशमा रहेको आफन्त वा साथमा जान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात, गन्तव्य मुलुकमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र निज विदेशमा रहेको प्रमाण खुल्ने कागजात आवश्यक पर्ने छ ।
ट्राभल एजेन्सीबाट घुमफिरमा जान लागेको भए त्यसको पत्र र लिखित स्वघोषणा गरेपछि मात्र उनीहरुलाई अनुमति दिने गरी नीति परिवर्तन गरिएको छ ।