बंगलादेशसँग पीपीएलगत्तै माथिल्लो कर्णालीको स्रोत व्यवस्थापन : जीएमआरले भन्यो
(काठमाडौं) माथिल्लो कर्णाली निर्माणको जिम्मा पाएको भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर)ले केही महिनाभित्रै आयोजनाको वित्तीय व्यवस्थापन टुंग्याउने दावी गरेको छ ।
कम्पनीले बंगलादेशसँग ५ सय मेगावाट विजुली खरिद बिक्री सम्झौता (पीपीए) गरेपछि लगानीको स्रोत सुनिश्चत हुने उसले बताएको छ ।
जीएमआरले माथिल्लो कर्णाली निर्माणको जिम्मा पाएको १२ वर्ष भयो । तर, यो अवधिमा लगानीसमेत नजुटाई ‘बन्धक’ बनाएर मात्र राखेको भन्दै सरोकारवालाले आलोचना गरेका छन् । कम्पनीले भने विजुलीको राम्रो बजार राम्रो खोज्न केही समय लागेको र नेपालमा आयोजना निर्माण सुरु गर्नुअघिका विभिन्न प्रक्रिया पुरा गर्न पनि अलमल भएको तर्क गर्दै आएको छ ।
‘पीपीए नगरी बैंकहरुले लगानी गर्न चाहेनन्, हामीले ईपीसीएफ मोडलमा पनि यसलाई बनाउन सकिन्छ कि भनेर छलफल घनिभूत पारेका छौं,’ उनले भने, ‘पीपीए टुंगिनासाथै हामी तुरुन्तै वित्त व्यवस्थापन गर्छौं ।’
बंगलादेशसँग केही हप्तामै पीपीए हुने शर्माले बताए । कम्पनीले २९२ मेगावाट विजुली भने भारत सरकारलाई बेच्न लागेको छ ।
आयोजनालाई वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) का लागि दिइएको पछिल्लो म्याद गत वर्ष नै सकिएको थियो । तर, तोकिएको समयमा लगानी जुटाउन नसकेपछि जीएमआरलाई थप म्याद दिइएको छैन ।
माथिल्लो कर्णाली परियोजनाका प्रमुख केके शर्माले बंगलादेशसँग विद्युत खरिद विक्री सम्झौताका लागि प्रक्रिया टुंगिने चरणमा रहेको बताए ।
राजनीतिक दाउपेचमा परेको यो ९ सय मेगावाटको आयोजना भारतीय कम्पनीले निर्माण गर्न सन् २०१४ मा नै परियोजना विकास सम्झौता (पीडीए) पनि भइसकेको छ ।
जीएमआरले लगानी जुटाउन दुईपटक थप म्याद पनि पाइसकेको छ । पछिल्लो एक वर्ष कुनै निर्णय नै नभए पनि उसले यसमा प्रगति गर्न सकेन ।
तर, परियोजनाका प्रमुख शर्मा भने विभिन्न प्रक्रियाहरु पूरा गर्ने क्रममा कम्पनी व्यस्त रहेको दावी गर्छन् । उनका अनुसार आयोजनालाई ईपीसी वा ईपीसीएफ मोडलमा बनाउने गरी आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फको ठेकेदार कम्पनी छनोटको प्रक्रिया पनि अघि बढेको छ ।
‘आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको दुई प्याकेजमा विभिन्न विदेशी कम्पनी सर्ट लिस्टमा परेका छन्, एपीसीएफ मोडलमा उनीहरुलाई लगानीको विकल्पबारे पनि छलफलमा छौं, विदेशी बैंकहरु पनि पीपीए टुंगिएपछि यो आयोजनामा लगानी गर्न तयार छन्,’ उनले भने, ‘हामीसँग ईपीसीएफमा जाने वा अन्तर्राष्ट्रिय बैंकबाट ऋण लिने भन्ने दुई विकल्प खुला छन् ।’
शर्माका अनुसार सिभिल तथा हाइड्रोमेकानिकलतर्फ चाइना गेजुवा, कोभेक डीईसी, सिनो हाइड्रो सर्ट लिष्टमा परेका छन् । यस्तै इलेक्ट्रोमेकानिकल तर्फको एन्ड्रिज, भोइथ हाईड्रो, जीई, बीएचईएल, चाइना गेजुवा, सिनो हाईड्रो र डीईसी सर्टलिस्टेड भएका छन् ।
०७१ को असोजमा भएको भएको परियोजना विकास सम्झौता (पीडीए) मा माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन २ वर्षभित्रै (०७३ असोजसम्म) टुंग्याउने उल्लेख थियो । तर, सो म्याद नाघेपछि ०७३ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला थप एक वर्षको समय दिइयो ।
जीएमआरले ०७४ को असोजसम्म पनि लगानी जुटाउन सकेन । पुनः शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला लगानी बोर्डले जीएमआरलाई ०७५ को असोज २ गतेसम्मको अर्को समयसीमा थपियो । तर, योबीचमा पनि जीएमआरले आयोजनाका लागि लगानी जुटाउन सकेन । यसपछि भारतीय कम्पनी अर्को म्याद थप्ने निर्णयका लागि दौडधुपमा लागेको थियो । तर, सरकारले नयाँ म्याद नतोकेर जीएमआरलाई वित्तीय व्यवस्थापनको लागि समय खुला छोडेको छ ।
यो आयोजना गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका समयमा सन् २००८ को जनवरीमा जीएमआरलाई दिइएको हो । भारतीय कम्पनीले यसरी आयोजना लिएको १२ वर्ष भइसक्यो । यसवीचमा लागत लगातार बढिरहँदा यो आयोजनाले पनि पश्चिम सेतीकै नियती भोग्नुपर्ने हो कि भन्ने चिन्तामा छन् ऊर्जासम्बद्ध अधिकारीहरु ।
तर, जीएमआरले भने सरकारी प्रक्रियाहरुका कारण पनि धेरै ढिलाइ भएको तर्क गरिरहेको छ । निजी जग्गा अधिकग्रहणको जिम्मा कम्पनीकै भए पनि अछामका कतिपय जग्गाधनीहरुसँग जग्गाधनी लालपूर्जा नभएकाले पनि अधिग्रहणको काम सक्न मुश्किल भएको परियोजना प्रमुख शर्माले दावी गरे ।