ठेकेदारले सडकका खाल्डा माधव नेपाल आउने थाहा पाएपछि पुरे
काठमाडौं : आफ्नो निर्वाचन क्षेत्रअन्तरगतको शंकरापुर नगरपालिकामा आयोजित चियापानमा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आउने सुइँको पाएपछि ठेकेदारले धमाधम खाल्डा पुरेका छन्।
नेकपा शंकरापुर नगर कमिटीले आयोजना गर्ने चियापान तथा शुभकामना कार्यक्रममा भाग लिन नेकपा नेता नेपाल शुक्रबार दिउँसो साढे १ बजे आउने थाहा पाएका ठेकेदारले बिहानै खाल्डा पुरेका हुन्।
चाबहिलदेखि थलीसम्म नै कन्तबिजोग अवस्थामा रहेको सडक बौद्धसम्म केही पिच गरिएपनि त्यहाँबाट उताको अवस्था अझै बेहाल छ। यसको निर्माण छिटो गराउनका लागि नेता नेपालले पटकपटक ताकेता गर्दा पनि काम भएको छैन । फटक पटक नेता नेपालले भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ सहित पुगेर सम्बद्ध निकायहरुका जिम्मेवारहरु र स्थानीयसँग छिटो निर्माण गर्ने सहमति भएपनि काम अझै हुन सकेको छैन ।
स्थानीयबासीका अनुसार लामो समयदेखि अलपत्र उक्त सडकखण्डका साँखु र थली क्षेत्रस्थित सडकका ठूला ठूला खाल्डा बिहानै डोजर लगाएर पुरिएको हो।
कागेश्वरी–मनोहरा सडक यातायात सरोकार समितिका अध्यक्ष मनीष सिम्खडाले पटक पटक दबाब दिँदा पनि उक्त क्षेत्रको सडक नबनेपछि आन्दोलित हुनु परेको बताए। साँखु–जोरपाटी शंखरापुर सडक सरोकार समितिका अध्यक्ष मिलन खड्काले लामो समयदेखि सडक बन्न नसक्दा यातायातका साधन नै चल्न नसकेको बताए।
करिब ५ वर्षदेखि अलपत्र यो सडकखण्ड पिचका लागि स्थानीयबासीले पटक पटक आन्दोलन गर्दै आएका छन्।
आफ्नै क्षेत्रको सडक निर्माणको पहल गर्न नसकेको भन्दै शुक्रबार थली पुग्न लागेका नेता नेपाललाई कालोझण्डा देखाउने तयारी स्थानीयले गरेका छन्।
‘नेता र मन्त्री आउँदा ठेकेदारले हतार हतार खाल्डा पुरे जस्तो गर्छन्’, उनले भने, ‘तर पिच गर्ने अत्तोपत्तो छैन। आन्दोलन गर्दा हामी नै हैरान भइसक्यौँ। यहाँका जनताले कहिलेसम्म सास्ती पाउने?’