भक्तपुरका मिठाइ पसलमा अनुगमन, अखाद्य रसायन भेटियो
(काठमाडौं) भक्तपुरका मिठाइ पसलहरुमा बिक्रीका लागि राखिएका मिठाइमा अखाद्य रसायन र रङ्ग मिसाइएको भेटिएको छ । नजिकिँदो तिहारलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भक्तपुर नगरपालिकाले बिहीबार नगरपालिकाको ७ वटा मिठाइ पसलहरुमा अनुगमन गरेका थिए ।
अनुगमन क्रममा पनिर किमा, लड्डु, समोसा र फिनी रोटी जस्ता मिठाइमा अखाद्य वस्तुको मिसावट पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण मर्हजनले जानकारी दिए ।नगरपालिकाको शाक्य स्विट्स, बिनायक मिठाइ भण्डार, सुरज मिठाइ भण्डार, जल्पादेवी मिठाइ भण्डार, लवजु मिठाइ भण्डार, रामेछाप मिठाइ भण्डार र श्रेष्ठ मिठाइ भण्डारमा अनुगमन गरिएको थियो ।
जसमध्ये रामेछाप मिठाइ भण्डारबाट भेज पनिर किमा २ किलो, लड्डु १ किलो, समोसा ३५ पिस नष्ट गरीएको थियो ।
यस्तै श्रेष्ठ मिठाइ भण्डारबाट चास्नी करिब ३ किलो, अखाद्य रङ्ग प्रयोग गरी बनाइएको फिनी रोटी करिब ४० पिस नष्ट गरीएको छ । लवजु मिठाइ भण्डारबाट अखाद्य रङ्ग प्रयोग गरिएको लड्डु १.५ किलो, फिनी रोटी करिब ५० पिस नष्ट गरिएको थियो ।
जल्पादेवी मिठाइ भण्डारमा पनि अखाद्य रसायन हाइड्रोको बट्टा १ थान, कृत्रिम फ्लेभर १ बट्टा, पटक-पटक मिठाइजन्य खाद्य पदार्थ तार्न प्रयोग गरिएको तेल करिब १.५ लिटर नष्ट गरिएको बिभागले जनाएको छ ।
प्रवक्ता महर्जनका अनुसार सबै मिठाइ पसलहरुलाई पहिलो पटकका लागि सरसफाइको अवस्था सुधार गर्न निर्देशनसमेत दिइएको छ ।