प्रचण्ड : समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुँदैछ
(चितवन) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गरेका छन्।
७० वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको भन्दै उहांँले भने 'हामी बिग्रियाैं भने प्रतिक्रियावादीले केही गर्नुपर्दैन सजिलै सोभियत सङ्घ जस्तै खतरा हुन्छ।' पछिल्लो समय आफू सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले थपे, 'कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैँले ल्याएको परिवर्तनप्रति त्यसको रक्षा, कार्यान्वयन गर्नेप्रति हामी कति गम्भीर छौं।' प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्याइँ, लापरवाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौँ उनले प्रश्न गरे।
दाहालले कहिलेकाहीँ क्रान्तिको केन्द्र ठिक ढङ्गले पार्टी, नेता र कार्यकर्ताले आत्मसात् गर्न सकेनन् भने त्यो प्रतिक्रान्तिको खतरा हुने बताए। प्रतिगामी खेल्ने ठाउँ चितवन बनेको भन्दै उहाँले अराजकता फैलाउनेमा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको सुनेको र देखेको भन्दै चिन्ता व्यक्त गरे। शुभकामना आदानप्रदान गर्दै गर्दा कमी कमजोरीका विषयलाई गहिरो गरी विचार ग-यौँ भने मात्र शुभकामना सार्थक हुने उनले बताए।
चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्ट नेता कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देख्दा अप्ठ्यारो महसुस भएको बताए। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति समाजमा रहेको बताए।
नेकपा चितवनले आज यहाँ विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले परिवर्तनमा कहीँकतैबाट खतरा नभई हामी आफैँबाट खतरा हुनसक्ने बताए।
सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिष्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताए। नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश नं ३ का सहइञ्चार्ज काशीनाथ अधिकारी, प्रदेश नं ३ का अध्यक्ष नारायण दाहाल, नेपाली काङ्ग्रेस, चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए।