प्रदेश सरकारकै लगानीमा हेटौंडा–काठमाडौं सुरुङमार्ग
(हेटौँडा) बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ ।
सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधार बनाउन सकेको थिएन ।
भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रहीहरुसमेत सुरुङमार्ग निर्माणको पक्षमा हुनुहुन्छ । प्रदेशको गौरवको आयोजनासमेत भएकाले सरकारको यही कार्यकालमा सम्पन्न हुनेगरी काम थालिने गर्ने तयारी गरिएको मुख्यमन्त्री पौडेलले राससलाई जानकारी दिए ।
तर, यस वर्ष भने कानूनी तथा प्राविधिक तयारी पूरा गरेर प्रदेश सरकार आफैँले केन्द्र र स्थानीय तहसँग समेत सहकार्य गर्नेगरी काम शुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार आगामी तीन महीनाभित्र बोलपत्रसमेत आह्वान गर्ने तयारी भइसकेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने परियोजना निर्माणका लागि रु १२ अर्बसम्म लगानी लाग्ने अनुमान गरिएको छ ।
प्रदेश नं ३ को राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइएको मुख्यमन्त्री पौडेलको भनाइ छ ।
नेपालको दीर्घकालीन विकासको कोसेढुङ्गा हुने विश्वाससहित प्रदेश सरकारले सुरुङमार्गको योजना अगाडि बढाएको उनी बताउँछन् । उनका अनुसार मार्ग कुन ढाँचामा निर्माण गरिने भन्ने प्राविधिक तयारी सकिएको छ ।
हाल भीमफेदीदेखि सिस्नेरीसम्म साढे तीन किलोमिटर सुरुङ खनिने तथा हेटौँडा–भीमफेदी सडक र सिस्नेरी काठमाडौँलाई फराकिलो बनाइने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए ।
सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको झञ्झटिलो र घण्टौँको यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्रा अवधि तथा आर्थिक बचतसमेत गराउने उनको विश्वास छ । सुरुङ राजमार्गले हेटौँडा हुँदै नेपालको सम्पूर्ण पश्चिमी, दक्षिणी र पूर्वी भागलाई जोड्ने र देशको समग्र अर्थतन्त्रलाई उल्लेख्य वृद्धि गर्ने मुख्यमन्त्री पौडेलको भनाइ छ ।
प्रदेश नं ३ सरकारको परियोजनामध्य सबैभन्दा महत्वपूर्ण परियोजनाको रूपमा रहेको सुरुङमार्ग निर्माण पूर्वको सम्पूर्ण काम लगभग सकिएको र अब तीन महीनाभित्र बोलपत्र प्रक्रियामा जाने भौतिक पूवाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।
भारतबाट हाल अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपलाइन सुरुङमार्ग हुँदै काठमाडौँ पुर्याउने योजना पनि सुरुङमार्ग निर्माणसँगै जोडेर अगाडि बढाइने योजना रहेको जनाइएको छ । ७२ किलोमिटरमा अमलेखगञ्ज काठमाडौँ पाइपलाइन विस्तार गर्न सकिने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए ।
पाइपलाइनले पनि देशको ठूलो ढुवानी खर्च बचत गर्ने उहाँको भनाइ छ ।
सुरुङमार्गको सम्भाव्यता तथा समग्र विषयमा अध्ययन गर्न बनेको विशेष टोलीले आफ्नो प्रतिवेदनसहितको प्रस्तुतीकरण गरेको र तिहारपछि थप सम्पूर्ण तयारीसहितको प्रस्तुतीकरण हुने उनले बताए ।