चितवनमा यूरिया मल लिन मारामार
भदौ ३१- चितवन भरतपुरको दुरसञ्चार रोडमा आइतबार बिहानैदेखि ठूलो भीडभाड लाग्यो ।त्यहा तीन सयभन्दा बढी मानिसहरु लाइनमा ठेलमठेल गरिरहेका थिए । लाइनमा वृद्धवद्धासमेत थिए । सडकमा हिँड्नेहरु यहाँ के भएछ भनेर चासो लिएर हेर्थे । तर भीड अरु केही नभएर यूरिया मल लिन आएका किसानहरुको थियो ।हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले बाँडेको मल लिन तछाडमछाड दिनभर चल्यो । कोही बिहानैबाट भोकै लाइनमा बसेको बताउँदै थिए त कोही बालबच्चासमेत लिएर आएका थिए ।
हातमा बोरा बोकेर मल लिन आएकाहरु तीन किलो मल प्लाष्टिकमा झुण्डाउँदै असिनपसिन हुँदै घर तिर लागे । कोही मल नै नलिई सरकारलाई गाली गर्दै हिँडे । यतिबेला किसानका खेतमा धान पसाउने बेला भएको छ । अबको करिब १० दिनमा धान पसाउँछ । त्योभन्दा अगाडि नै मल हाल्न सके उत्पादन राम्रो हुने थियो भन्ने आशा किसानको छ । तर, मल पाउन भने महाभारत नै लड्नुपर्ने जस्तो अवस्था छ ।
चितवनमा मात्रै होइन देशभरकै समस्या यस्तै छ ।मल लिन लाइनमा बसेका भरतपुर महानगरपालिका–११ कोलटाँडीका किसान खगेश्वर बस्याल भन्छन्, ‘करिब दुई घण्टा लाइनमा बसेँ । धकेलाधकेल हुन थालेपछि लाइन नै छाडिदिएँ ।’उनले एक बिघा जग्गामा धान खेती गरेका छन् । उनलाई एक बोरा युरिया मल आवश्यक थियो ।
तर एक किलो पनि पाएनन् । साउन ८ गते धान रोपेको सुनाउँदै बस्यालले भने, ‘रोपाइँ भएको दिनदेखि एकपटक पनि युरिया मल हालेको छैन । रोपाइँ भएको दिन डिएपी मल छरेँ, त्यति हो ।’ समयमै मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्ता बस्याललाई जस्तै अरु धेरै किसानलाई छ ।