नेपालले अध्यक्षता गरेको सार्क बैठकमा भारत र पाकिस्तानको पानी बाराबार भयो
(काठमाडौं) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले आयोजना गरेको क्षेत्रीय बैठकमा भारत र पाकिस्तानको दुश्मनी छताछुल्ल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीले एकले अर्कोलाई बहिस्कार गरेका हुन् ।
न्यूयोर्कमा आयोजित बैठकमा वर्णानुक्रम अनुसार पहिले भारतका विदेशमन्त्री एस जयशंकरले बोल्ने समय पाएका थिए ।
जयशंकरले बैठकमा सम्बोधन गरुन्जेल पाकिस्तानी विदेशमन्त्री मोहम्मद कुरेसी बैठकमा बसेनन् । जयशंकर बोलेर हिँडेपछि मात्र पाकिस्तानी विदेशमन्त्री कुरेसी बैठकमा सहभागी भएको न्युयोर्कस्थित नेपाली नियोगका एक अधिकारीले जानकारी दिए ।
नेपालले भारत र पाकिस्तानको तनाव कम गर्न र क्षेत्रीय शान्तिको लागि दुई देशबीच मध्यस्थताको भूमिका निर्वाह गर्न खोजेको छ । दक्षिण एशियालीमा भारत र पाकिस्तान दुवैसँग राम्रो सम्बन्ध रहेको र संवाद निरन्तर गर्ने मुलुकमा नेपाल पर्छ र नेपाल सार्कको अध्यक्ष समेत हो ।
सन् २०१५ मा नेपालमा आयोजना भएको सार्क शिखर सम्मेलनपछि भारत र पाकिस्तानको तानवकै कारण १९ औं शिखर सम्मेलन हुन सकेको छैन । एक वर्षपछि अर्थात २०१६ नोभेम्बरमा इस्लामावादमा भेट्ने बाचासहित छुटिएका भारत र पाकिस्तान एउटै मन्चमा बस्न नमानेका कारण सार्कले काम गर्न छाडेको छ ।
कश्मिरमा भारतीय सैनिक क्याम्पमा आक्रमण भएपछि तीन वर्षअघि हुनुपर्ने सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतले अश्वीकार गरेपछि स्थगित भएको थियो । त्यसयता अध्यक्ष मुलुकका हैसियतले नेपालले दुवै निरन्तर पहल गरिरहेको मन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्री केपी ओली दोस्रो कार्यकाल निर्वाचित भएलगत्तै तत्कालीन पाकिस्तानी प्रधानमन्त्री काठमाडौं आएका थिए । उनले सार्क अध्यक्षको हैसियतमा शिखर सम्मेलनको वातावरण बनाउन ओलीसँग आग्रह समेत गरेका थिए । तर भारत र पाकिस्तान पछिल्लो कश्मिर प्रकरणपछि एउटै बैठकमा समेत बस्न नसक्ने अवस्थामा पुगेका छन् ।