काठमाडौंका ट्राफिक जाम हुने मुख्य चोकमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा
काठमाडौं : सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य-मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चाबहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेका हुन्। त्यसका लागि आवश्यक डिजाइनको काम सुरु भइसकेको मन्त्री महासेठले जानकारी दिएका छन्। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालू आर्थिक वर्षभित्र काठमाडौंको सडकमा स्मार्ट लाइट व्यवस्थापन गर्ने योजना पनि सुनाए।
उनले त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गरिसकेको पनि जानकारी दिए। मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्ष भित्र सुन्दर सहर बन्ने गरी पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको दावी पनि गरे। उनले मुलुकमा रेल सेवा सञ्चालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताए।
रासस