संसदमा रवि लामिछानेको गिरफ्तारी र पुडासैनीको मृत्यु प्रकरणको विषय प्रवेश
काठमाण्डौ – प्रतिनिधिसभाको आइतबारको बैठकमा पत्रकार शालिग्राम पुडासैनीको रहस्यमय मृत्यु र रवि लामिछाने गिरफ्तार प्रकरणको विषयले प्रवेश पाएको छ । संसदको शून्य समयमा आफ्ना भनाइ राखेका नेकपाका सांसद महेश्वरजंग गहतराजले पत्रकार पुडासैनीको मृत्यु प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनकाविरुद्ध रहेको बताउनुभयो ।
आफ्नो मान्छे वा आफूलाई मन परेको मान्छे अपराधि हुँदैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशा तर्फ लगिरहेको भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुन पानीको चोखो हुन्छ । अपराधि हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लगिरहेको छ ? आज गम्भीर चिन्ता र चासोको विषय भएको छ ।’ उहाँले लामिछानेको गिरफ्तारको घटनालाई लिएर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्दै अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जत गर्ने कार्य भइरहेको भन्दै त्यस्तो कार्यको निन्दा समेत गर्नुभयो ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रकृया रहेको भए पनि अहिले यसलाई उल्लंघन गर्दै हुलहुज्जत गरेर शान्ति सुव्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको प्रति गम्भीर चिन्ता उत्पन्न भएको बताउनुभयो ।यस्ता गतिविधिले अपराधिलाई अझ प्रोत्साहन गर्ने हुँदा यसतर्फ सबैको ध्यान गम्भीर हुनु जरुरी रहेको पनि उहाँले बताउनुभयो ।
रासस