विश्वभाषा क्याम्पसमा ‘एकेडेमिक डिग्री’ सुरु
काठमाण्डौ - भाषा मात्रै पढाउँदै आएको विश्वभाषा क्याम्पसमा एकेडेमिक कोर्स सञ्चालन हुने भएको छ । स्थापनाको ५८ वर्षपछि विभिन्न भाषासँग जोडेर क्याम्पसले स्नातक तहको कार्यक्रम सञ्चालन गर्न लागेको हो । नेपाली विद्यार्थीले समेत अध्ययन गर्न पाउने गरी यो कार्यक्रम त्रिविको विद्यापरिषद्ले स्वीकृत गरेको छ । विश्वभाषा क्याम्पसका प्रमुख भीमनाथ रेग्मीले आगामी सेप्टेम्बरबाट पहिलोपटक नेपाली विद्यार्थीका लागि स्नातक तहमा भर्ना लिने तयारी भएको बताए । प्राज्ञिक परिषद्बाट पारित भएपछि कार्यक्रम सुरु हुने उनको भनाइ छ । अघिल्लो वर्ष विदेशीका लागि नेपाली भाषामा स्नातक तहको कार्यक्रम सुरु भएको थियो ।
प्राज्ञिक मान्यता नहुँदा विश्वभाषा क्याम्पसमा तीन वर्ष अध्ययन गरे पनि उनीहरूले कुनै पनि सेवामा अवसर नपाउने भएकाले एकेडेमिक डिग्री सुरु गरेको रेग्मीले बताए । ‘विश्वभाषा क्याम्पसमा धेरैले भाषा पढे, तर त्यो भ्यालिड भएन,’ उनले भने, ‘क्याम्पसलाई माथिल्लो स्तरमा पु¥याउन र एकेडेमिक डिग्री पाउँदा विद्यार्थीलाई अवसर धेरै हुने भएकाले यस्तो प्रयास गरेका हौँ ।’ विश्वभाषामा स्नातक गरेका विद्यार्थीलाई स्नातकोत्तर तहको कार्यक्रममा भर्नाका लागि समेत बाटो खुल्नेछ । ‘भाषा पढेर कोही टुरिस्ट गाइड बने, कतिले धेरै सम्पत्ति पनि कमाए, तर यसको प्रमाणपत्रले मान्यता पाएको थिएन,’ उनले भने, ‘तीन–चार वर्ष पढे पनि अहिलेसम्म तालिम दिने संस्थाजस्तै भएको थियो ।’
यस्तो छ कार्यक्रम
विश्वभाषा क्याम्पसले चिनियाँ, कोरियन, जापानी, जर्मन र अरबिक भाषामा स्नातक तहको कार्यक्रम सञ्चालन गर्नेछ । यीमध्ये एउटा मात्र भाषा विद्यार्थीले रोज्न पाउनेछन् । उनीहरूले अंग्रेजी भाषा चार सेमेस्टर, नेपाली भाषा दुई सेमेस्टर र नेपाल स्टडिज दुई सेमेस्टर अनिवार्य पढ्नुपर्नेछ । दोस्रो ऐच्छिक विषयका रूपमा ग्लोबल स्टडिज वा ट्राभल एन्ड टुरिजम अध्ययन गर्न पाउनेछन् । दुई सेमेस्टरमा ‘राइटिङ फर कम्युनिकेसन’ विषय पढ्नुपर्छ । तीन–तीन क्रेडिटको थेसिस लेख्नुपर्ने व्यवस्था छ ।
०१८ मा विश्वभाषा महाविद्यालयका नाममा सो संस्था स्थापना भएको थियो । कूटनीतिक कर्मचारीलाई भाषा र संस्कृति सिकाउन स्थापना भएको यो संस्था ०२८ मा त्रिविको आंगिक क्याम्पस बन्यो । त्रिविको आंगिक क्याम्पस भए पनि विश्वविद्यालयस्तरका एकेडेमिक कार्यक्रम सञ्चालन भएको थिएन । विश्वभाषा क्याम्पसमा पछिल्लो एक वर्षमा ६ हजार दुई विद्यार्थी भर्ना भएका छन् । त्यसमध्ये चार सय ५० विदेशी विद्यार्थी रहेको क्याम्पस प्रमुख रेग्मीले बताए ।
अहिले विदेशी विद्यार्थीले नन–एकेडेमिकमा नेपाली, संस्कृत, पाली र नेवारी भाषा पढ्न पाउँछन् । एकेडेमिक कोर्समा अधिल्लो वर्षदेखि नेपाली भाषा अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । अहिले चिनियाँ, जापानी, कोरियन, स्पेनिस, फ्रेन्च, इटालियन, अरबिक, जर्मन, रसियन र अंग्रेजी भाषा अध्ययन गर्न पाइन्छ ।